टिपर पल्टिएर तमोर नदीमा खस्दा एक जना बेपत्ता

विराटनगर ।संखुवासभाको फक्ताङलुङ गाउँपालिका–६ लेलेपमा सोमबार दिउँसो टिपर दुर्घटना हुँदा एक जना बेपत्ता भएका छन्।

तमोर करिडोर सडकखण्डमा ‘तमोर–५ हाइड्रोपावर’मा प्रयोग भइरहेको ग १ क ६३१८ नम्बरको टिपर मर्मतपछि परीक्षण गर्ने क्रममा पल्टिएर तमोर नदीमा खसेको हो। दुर्घटनामा तनहुँको शुक्लागण्डकी गाउँपालिका–४ घर भएका अन्दाजी २४ वर्षीय सुदीप सुवेदी नदीमा बेपत्ता भएका जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ। सुवेदी सो हाइड्रोपावरमा मेकानिकका रूपमा कार्यरत थिए।

टिपर खसेको जानकारी पाएलगत्तै प्रहरी टोली घटनास्थल पुगेर खोजी कार्य सुरु गरे पनि सुवेदी फेला नपरेको प्रहरीले जनाएको छ। प्रहरी निरीक्षक विवेक बस्नेतका अनुसार टिपर नदीमा डुबेको अवस्थामा भेटिएको छ भने बेपत्ताको खोजी कार्य जारी छ।