बुंगल हाइड्रोको सेयर नेप्सेमा सूचीकृत, सोमबारबाट कारोबार सुरु

बिराटनगर। हालै सार्वजनिक निष्कासन (IPO) जारी गरेको बुंगल हाइड्रोपावर लिमिटेडको सेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ। कम्पनीको सेयर सोमबार (कात्तिक २४) देखि कारोबार हुन सुरु गर्ने नेप्सेले जनाएको छ।

नेप्सेका अनुसार कम्पनीलाई पहिलो कारोबारका लागि रु १००.८८ देखि रु ३०२.६४ सम्मको मूल्य दायरा (प्राइस रेञ्ज) तोकिएको छ। नेप्सेले नयाँ सूचीकरणमा प्रतिसेयर नेटवर्थको तीन गुणासम्मको मूल्य रेञ्ज दिने परम्परा रहेको छ।

सूचीकृत सेयरमध्ये कम्पनीको ३५ प्रतिशत सर्वसाधारण स्वामित्व बराबर ५३ लाख ९५ हजार कित्ता र ६५ प्रतिशत संस्थापक स्वामित्व बराबर ८३ लाख आठ हजार कित्ता रहेका छन्।

कम्पनीको सेयर रजिष्ट्रारको काम हिमालयन क्यापिटल लिमिटेडले गर्नेछ।

बुंगल हाइड्रोपावर लिमिटेडले अघिल्लो आर्थिक वर्षमा सफलतापूर्वक आईपीओ निष्कासन गरी सर्वसाधारण लगानीकर्ताबाट राम्रो प्रतिसाद पाएको थियो।