कारागारबाट छुटेका पुरुषले राति श्रीमतीको हत्या गरे

बिराटनगर। जबरजस्ती करणी मुद्दामा सजाय भोगेर सोमबार (कात्तिक २४) मात्रै कारागारबाट छुटेका एक पुरुषले राति आफ्नै श्रीमतीको हत्या गरेका छन्। घटना पर्वतको मोदी गाउँपालिका–६, दराकमा भएको हो।

जिल्ला प्रहरी कार्यालय पर्वतका अनुसार ५१ वर्षीय जितबहादुर विकले मंगलबार बिहान करिब १ बजे श्रीमती ५२ वर्षीया सीता विकमाथि कुटपिट गरेका थिए। कुटपिटका कारण गम्भीर घाइते भएकी सीतालाई उपचारका लागि प्रदेश अस्पताल पर्वत पुर्‍याइए पनि उपचारकै क्रममा बिहान साढे ५ बजे मृत्यु भएको डीएसपी विजय यादवले जानकारी दिए।

घटनाबारे बुहारी शोभा विकले ससुराले सासूलाई कुटपिट गरी रगताम्य बनाएको भन्दै प्रहरीमा जानकारी गराएकी थिइन्। त्यसपछि घटनास्थल पुगेको प्रहरी टोलीले सीतालाई सुत्ने कोठामा अचेत अवस्थामा फेला पारेको थियो।

प्रहरीका अनुसार छिमेकीहरूले जितबहादुरलाई घरभित्रै कोठामा थुनेर राखेका थिए। पछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको छ।

घटनाको समयमा घरमा श्रीमान्–श्रीमती, बुहारी र दुई महिनाकी नातिनी मात्र थिए भने उनका तीन छोरा रोजगारीका लागि विदेशमा रहेका प्रहरीले जनाएको छ।

पुलिसले घटनाबारे थप अनुसन्धान सुरु गरेको जनाएको छ।

Add a Comment